Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

जोकमा पनि पटकथाको संरचना हुन्छ –– अन्जुम राजाबली

काठमाडौं– बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले फिल्म लेखनमा व्याकरण मानिने ‘थ्री एक्ट स्ट्रक्चर’ कत्तिको जरुरी हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा हरेक कथामा ‘थ्री एक्ट स्ट्रक्चर’ हुने बताए ।
‘तर यो कुनै गणित भने हैन,’ उनले भने, ‘फिल्म लेखनमा तर्कलाई स्थान दिन पर्छ तर यो गणित जस्तो भने हैन । आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।’ ब्लिउडका चर्चित फिल्मका लेखक तथा पटकथा प्रशिक्षक अन्जुम राजाबली दुई दिने कार्यशालाका लागि बुधबार नै नेपाल आइपुगेका हुन् । कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा नेपाल आएका उनले बिहीबार र शुक्रबार दुई पर्यटन बोर्डको हलमा पटकथा लेखन सम्बन्धी प्रशिक्षण दिनेछन् ।
पटकथाको महत्वको बारेमा चर्चा गर्दै राजाबलीले भारत पनि पटकथा लेखनमा गम्भीर नभएको बताए । उनले भारतीय सभ्यताको विशेषता भनेकै कथा वाचन भएको बताउँदै त्यसबाट भारतीय फिल्मले पनि पर्याप्त लाभ लिन नसकेको बताए ।
‘भारत संसारकै सबैभन्दा बढी फिल्म निर्माण गर्ने उद्योग हो । हलिउडमा ७ सयको हाराहारीमा फिल्म निर्माण हुन्छन् तर भारतमा १२ सय ५० फिल्म वर्षेनी निर्माण हुन्छन्,’ उनले प्रश्न गरे, ‘तर, कतिवटा भारतीय फिल्म हेर्न लायक हुन्छन् ? कतिले राम्रो व्यापार गर्छन् ? यी सबै फिल्म असफल भएका होइनन् पटकथा असफल भएका हुन् ।’
राजाबलीले राम्रो फिल्म बन्नमा ५० प्रतिशत हात पटकथाको रहने बताए । उनले भारतको दृष्टान्त दिंदै भारतमा पनि सन् २००४ पछि मात्र पटकथा पढाउन थालिएको बताए । उनले भने, ‘भारतमा पनि राम्रो फिल्मका लागि राम्रो पटकथाको जरुरी छ भन्ने कुरा बुझ्न थालेको १२÷१३ वर्ष भयो । किनकि यो भनेको ‘ब्लुप्रिन्ट’ हो । ‘ब्लुप्रिन्ट’ सही भयो भने मात्र फिल्म पनि राम्रो हुन्छ ।’
करिब आधा घन्टा पत्रकारसँग समय बिताएका राजाबलीले जुन विधाको फिल्म लेखे पनि त्यो विषयको गहिराइ थाहा पाउन जरुरी रहेको बताए । ‘लेखकमा समाज र यसको गतिशीलता थाहा हुन जरुरी छ । समाजमा भइरहेको परिवर्तनको पहिचान गर्न नसक्ने लेखक लामो समय टिक्न भने गाह्रो हुन्छ,’ लेखक र समाजको सम्बन्धमा सोधिएको एक प्रश्नमा राजाबलीले भने ।
संसारभर नै ‘मेनस्ट्रिम’ फिल्म र ‘कलात्मक’ फिल्मको सीमानाको बारेमा अनवरत बहस चलिरहेको छ । प्रशिक्षकसँगै फिल्म लेखकसमेत रहेका राजाबलीले लेखेको फिल्ममा व्यवासायिक र कलात्मक दुवै फिल्मको सम्मिश्रण रहेको समीक्षक टिप्पणी छ । ‘के मेनस्ट्रीम भन्ने बित्तिकै मसला फिल्म नै बनाउन जरुरी छ ?’ भन्ने अर्को प्रश्नमा व्यवसायिक फिल्मलाई पनि रोचक शैलीले भन्न सकिने बताए ।
‘भारतमा इमान्दार पुलिस अफिसरका बारेमा थुप्रै फिल्म बनेका छन् । त्यो मध्ये एउटा ‘जन्जिर’ थियो जसमा सारा व्यवसायिक मसला हालिएको थियो । तर, त्यसको एक वर्षपछि यस्तै इमान्दार पुलिस अफिसरको कथामा ‘अर्धसत्य’ बन्यो जसमा गीत र फाइट केही पनि थिएन । ‘जन्जिर’ त चल्यो नै ‘अर्धसत्य’ले २० हप्ता चलेको रेकर्ड राख्यो । यसको मतलब के हो भने तपाईंले कथालाई रोचक शैलीमा भन्न सक्नु पर्यो,’ राजाबलीले भने ।
‘दोह्रकाल’बाट पटकथा लेखन सुरु गरेका राजाबलीले ‘राजनीति’, ‘गुलाम’, ‘कच्चे धागे’, ‘दी लिजेन्ड अफ भगत सिंह’ आदि फिल्म लेखेका छन् । संसारभर पटकथा लेखनको कार्याशाला दिंदै आएका राजाबली सुभास घईले स्थापना गरेको ‘ह्विसलिङवुड’ फिल्म स्कुलका पटकथा लेखन प्रमुख र एफटिआइआईका पटकथा गुरु हुन् ।
बिहीबार बिहान साढे ९ बजेबाट चल्ने उनको कार्याशाला बेलुकी साढे ५ सम्म चल्नेछ ।
(बुधबार मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकारसँग अन्तक्र्रिया गर्दै (बीच) मा अन्जुम राजाबली) ।